काठमाडौं । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा हालसम्म ६५ जनाको शव फेला परेको छ ।
दुर्घटनास्थलबाट उद्धार जारी रहँदा फेला परेका ६५ शवमध्ये ३० शव अस्पतालमा पुर्याइएको छ । बाँकी ३५ शव दुर्घटना स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए।
एउटा शव खोंचमा अल्झिएको अवस्थामा देखिए पनि उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ । बाँकीको अवस्था अझै अज्ञात छ ।
दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिएका छन् । शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ ।
अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ।
यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए । ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए ।