काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि रेशम चौधरीसहित सम्पूर्ण थारु राजबन्दीको रिहाइ नभएसम्म सरकारमा नजाने बताएकी छिन् ।
उनले भनेकी छिन् ‘हाम्रा मतदाताहरुले हामीलाई सम्पूर्ण थारु राजबन्दीको रिहाइ नभएसम्म मन्त्रालयको दैलो नटेक्न खबरदारी गरिरहेका छन् ।’
अध्यक्ष श्रेष्ठले भनेकी छिन् ‘सरकारलाई विश्वासको मत दिन्छौं, किनभने राष्ट्रपतिसमक्ष हस्ताक्षर गरेर समर्थन जनाइसकेपछि हामी झुटा हुन चाहँदैनौं, धेरै माननीयलाई लाग्ला विश्वासको मत दिएर पनि किन प्रतिपक्षमा भन्ने, यसको उत्तर तपाईंसँगै छ ।’
प्रधानमन्त्री प्रचण्डले दिएको मौखिक वाचा पूरा भएको भए आफूहरु सत्तापक्षकै कुर्सीमा बस्ने थियौं भन्दै अध्यक्ष श्रेष्ठले आफ्नो पार्टीका माग पूरा नभएसम्म प्रतिपक्षकै कुर्सीमा बस्ने स्पष्ट पारेकी छिन् ।
यसैबीच प्रधानमन्त्री दाहालले रेशम चौधरी निर्दोष रहेको बताउँदै आवश्यक ऐन ल्याएर छुटाउन सरकारले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनी निर्दोष छन् भन्ने सवैलाई थाहा हुँदाहुँदै पनि उनको मुद्दा अदालतमा रहेकाले कानून आवश्यक भएको बताएका छन् । उनले भनेका छन् ‘ रेशम चौधरीको विषय कानूनी विषय बनिसकेको छ । अदालतमा मुद्दा पनि छ, मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा रेशमजीलाई भेटेर पनि भनेको थिएँ उहाँ र उहाँ जस्तै साथीहरुलाई छुटाउने भनेर भनेको थिएँ अब संसदबाटै आवश्यक विधेयक, ऐन ल्याएर रेशमसहित उहाँजस्तै बन्दी रहेकाहरुलाई छुटाउन सरकारले पहल गर्नेछ ।’



















