काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।
आज बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको सांसद शरदसिंह भण्डारीले जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको संसदीय दलको बैठकमा विश्वासको मत दिने निर्णय गरेको हो । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद छन् ।
पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिनेरनदिने बारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।
एमालेसहित ७ दलको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज विश्वासको मत लिँदैछन् ।
त्यस्तै आजै बिहान बसेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि दाहाललाई विश्वासमा मत दिने निर्णय गरिसकेको छ ।
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकको निर्णय सुनाउँदै भने, ‘बैठकले यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ, अहिले विश्वासको मत दिन्छ, हाम्रा एजेन्डाहरू राखिनेछन्, ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय छ।’




















