काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदमा आफ्नो बलियो उपस्थीति देखाउन र जनतासमक्ष गरेका प्रतिवद्धता पुरा गर्नका लागि संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन् ।
बैठकले मंगलबार संसदमा प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिनका लागि अन्य दलहरुलाई आग्रह गरेको सांसद सन्तोष परियारले जानकारी दिएका छन् ।
उनले अहिले पार्टीले दलको नेतामात्र चयन गरेको र प्रमुख सचेतक र सचेतक पछि चयन गरिने बताएका छन् ।
सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
रास्वपा संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी लिएको हो । दलको बैठकमा सांसदहरुले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सल्लाह समेत दिएका थिए ।
बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा डा. चन्दा कार्कीको नाम सिफारिस गरिएको सांसद सन्तोष परियारले जानकारी दिएका छन् ।




















