काठमाडौं । सत्ता साझेदार दलहरूले आज (बिहीबार) सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।
आज बस्ने बैठकले मस्यौदाको टुंगो लगाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । न्यूनतम साझा कार्यक्रममा सरकार सञ्चालन र यसका काम कारबाहीका विषय समेटिने बताइएको छ ।
आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम बनाउने दलहरूको तयारी छ ।
सरकारको साझा कार्यक्रम आइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेछन् । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ ।




















