काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुहार हेरेर मात्रै सरकारलाई समर्थन गर्न नसकिने बताएको एक घण्टा नविँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दाहाललाई भेट्न सिंहदरवार पुगेका छन् ।
पार्टीनिकट युवासंघ नेपालले बुधबार गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधनमा गर्दै अध्यक्ष नेपालले सरकारलाई समर्थन र विरोधको कुरा एकीकृत समाजवादी अलमलमा पर्यो भन्ने कुरा सञ्चारमाध्यममा आइरहे पनि पिक्चर क्लियर नभएसम्म आफूहरु सरकारमा नजाने बताएका थिए । सरकारको नीति तथा कार्यक्रमबारे आफूहरु जानकार नभएको र आफूहरुलाई नसोधिएकाले प्रधानमन्त्री प्रचण्डको अनुहार हेरेर मात्र सरकारलाई समर्थन नगर्ने बताएका थिए ।
सरकारलाई समर्थन गर्ने कुरामा अनिर्णित रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन ।
दुई नेताबीच सात दलीय गठबन्धन सरकारलाई समर्थनबारे कुरा हुने बताइएको छ । समाजवादीको चार दिन लामो बैठक सरकारमा जाने नजाने केही निर्णय गरेको छैन।
कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्दा प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको गुनासो नेपालले गर्दै आएका छन् ।
समाजवादीले आफूलाई औपचारिक रुपमा कुनै प्रस्ताव नआएकाले अहिले नै सरकारमा जानेबारे कुनै निर्णय नगरेको जानकारी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बताएका थिए ।
मंसिर ४ को निर्वाचनमा समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ। समानुपातिकतर्फ थ्रेस होल्ड नकटाएपछि समाजवादी राष्ट्रिय दल बन्न सकेन । कांग्रेस र माओवादीको साथ लिएर अघि बढिरहेको समाजवादी तत्कालीन गठबन्धन टुटेपछि बिलखबन्दमा परेको छ ।



















