काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकताबारे बहस चलेको छ । जसपाको राजनीतिक समितिको बैठकमा पार्टी एकता बारे छलफल चलेको छ ।
जसपाको राजनीतिक समितिको मंगलबारको बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । बैठकमा सहभागी जसपा राजनीतिक समितिका सदस्य मनिकर कार्कीले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे छलफल जारी रहेको बताएका छन् ।
सोमबार एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि पत्रकारहरुसँग कुरा गर्दै जसपासँग पार्टी एकताबारे छलफल चलिरहेको संकेत गरेका थिए ।
गत मंसिर ४ मा भएको निर्वाचनमा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न भने सकेन । उपेन्द्र यादव नेतृत्वको जसपाले भने प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।
यदि एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ । हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ ।
पछिल्लो समय एकीकृत समाजवादी र नेकपा एमालेबीच एकताको चर्चा थियो । तर दुई समाजवादीबीच एकताकै लागि संवाद भएको हो । गत निर्वाचनमा नेकपा एस कांग्रेस नेतृत्वको सत्ता गठवन्धनबाट निर्वाचन लडेको थियो भने जसपा नेकपा एमाले नेतृत्वको गठवन्धनबाट चुनाव लडेको थियो ।



















