कामठाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । त्यसअघि प्रचण्डले माओवादीसँगै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
प्रचण्डलाई स्वतन्त्र सांसदहरु अमरेश कुमार सिंह, प्रभु साह र किरणकुमार साहले समेत समर्थन जनाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो । दाहालले सात पार्टीका र स्वतन्त्र समेत गरेर १७० सांसदहरुको समर्थन लिएर राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ सरकार गठनको दाबी पेश गरेका थिए ।
नयाँ प्रधानमन्त्री दाहालको सोमबार अपरान्ह सपथ हुने शितल निवासले जनाएको छ ।
मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त प्रचण्डको यो तेस्रो कार्यकाल हो ।
पार्टीको खस्कदा अवस्थाले चिन्तित प्रचण्ड जसरी पनि यसपटक प्रधानमन्त्री बन्ने प्रयासमा थिए । नेपाली कांग्रेससँग आलोपालो प्रधानमन्त्री हुने सहमति गरे पनि पहिलो चरणमा को हुने भन्ने विवादका कारण अन्ततः कांग्रेस नेतृत्वको गठवन्धन भत्किएर एमाले नेतृत्वको गठवन्धन बन्यो । कांग्रेसले राष्ट्रपति र पहिलो चरणमा प्रधानमन्त्री नछाड्ने अडान लिएपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको शरणमा पुगेका थिए ।
ओलीले अन्य पार्टीहरुलाई समेत बोलाएर चार घण्टा लामो छलफल गरेर प्रचण्डको प्रधानमन्त्री हुने सपना साकार बनाइदिएका छन् ।
प्रचण्ड अढाइ वर्ष प्रधानमन्त्री हुने छन् भने त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् । राष्ट्रपति र सभामुख एमालेले लिने भएको छ भने अन्य पदहरुमा भागवण्डा गर्न बाँकी रहेको बुझिएको छ ।




















