काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेसहितका शीर्षनेताहरु राष्ट्रपति निवास शितल निवास पुगेका छन् ।
आइतबार दिउँसो बालकोटमा भएको बैठकमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच सहमति भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गर्न शीर्ष नेताहरु गएका हुन् ।
बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डको नेतृत्वमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको बताए ।
राष्ट्रपतिले तोकेको समयसीमाभित्र पहिलो दल बनेको कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले अग्रसरता लिएको उनको भनाइ छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोक्नुभएको छ । अन्तिम समयमा आएर दलहरुले बहुमत पुर्याएका हुन् ।




















