काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् ।
फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे ।
प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताए । उनले अरुले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावना समेत औंल्याए ।
अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहो-याए । उनले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको जिकिर गरे ।