काठमाडौं । प्रतिनिधिसभामा विजयी सबैभन्दा ज्येष्ठ सांसद पशुपति शमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।
सपथ समारोहमा तीन कम्युनिष्ट नेता तथा पूर्वप्रधानमन्त्रीहरुको लामो समय पछि जम्काभेट र भलाकुसारी समेत भएको छ ।

२०७७ मा तत्कालीन नेकपा खारेज भएदेखि संवादहीन अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच राष्ट्रपति कार्यालय शीतल निवासमा जम्का भेट भएको हो।
तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा कार्यक्रममा सहभागी भएका थिए । सँगै तीनवटा कुर्सीमा बसेका ओली, दाहाल र खनालबीच कुराकानी भए पनि के कुरा भयो भन्ने बाहिर आएको छैन ।
पहिलो चरणमै प्रधानमन्त्री हुन इच्छुक प्रचण्ड, राष्ट्रपति पद लिएर अन्य दलका नेताहरुलाई प्रधानमन्त्रीमा समर्थन गर्न सक्ने रणनीतिमा रहेका ओली र राष्ट्रपतिका आकांक्षी खनालबीचको जम्काभेट र कुराकानीलाई अर्थपूर्णरुपमा हेरिएको छ ।





















