काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले नव निर्वाचित सांसदहरुलाई शपथ खुवाउने भएका छन् । निर्वाचित सांसदमध्ये जबरा जेष्ठ सदस्य भएकाले प्रतिनिधिसभाका सांसदहरुलाई शपथ खुवाउने निर्णय भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अन्नपूर्णलाई जानकारी दिए । उमेरका हिसाबले जबरा ८० वर्षका भए । उनको जन्ममिति वि.सं. १९९८ वैशाख २५ रहेको छ ।
उनले भने,’ निर्वाचन आयोगले पठाएको २७५ सांसदहरुको विवरणमा राप्रपाका सांसद पशुपति शमशेर जबरा जेष्ठ सदस्य देखिनुभएको छ। उहाँले नै अन्य सांसदलाई पुस ७ गते शपथ खुवाउनुहुनेछ ।’
निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ। जबराले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि अन्य सांसदहरुलाई शपथ खुवाउनेछन् । पशुपतिशमशेर समानुपातिक सांसद हुन्।
यसअघि महिन्द्र यादव, चित्रबहादुर केसी र पशुपति शमशेर जबरामध्ये को ज्येष्ठ सदस्य भन्ने प्रश्न उठेको थियो। त्यसपछि जेष्ठ सदस्यको टुंगो लगाउन सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित सांसदहरुको जन्ममितिसहितको विवरण मागेको थियो। सोही विवरणका आधारमा संसद सचिवालयले जेष्ठ सदस्यको टुंगो लगाएको हो ।
पुस ७ गते सांसदहरुको शपथ हुन लागेको छ ।