चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठवन्धन हुँदा नै आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दावी गर्दै अब बन्ने सरकारमा पहिलो चरणमै आफ्नो पार्टीले प्रधानमन्त्रीमा दावी गर्ने बताएका छन् ।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले सत्ता गठबन्धनमा आफूले प्रधानमन्त्री पदका लागि औपचारिक रुपमा दावी भने गरिनसकेको बताएका छन् ।
उनले भनेका छन् ‘देशको नेतृत्व गर्ने अवसर आयो भने जिम्मेवारी लिने कुरा गरेको छु। बाहिर जसरी कुरा आएको त्यसरी औपचारिक रुपमा गठबन्धनभित्र कुरा भएको छैन ।’
नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्न खोजेको कुरा आफूलाई जानकारी नभएको बताउँदै उनले सहमति र समझदारीबाट नै अघि बढ्ने बताएका छन् ।
गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको पनि गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको र त्यो त्यो समझदारी अहिले पनि रहेको दाहालको दावी छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनुपर्ने भन्दै उनले सबैलाई प्याकेजमानै टुङ्गो लगाउने समझदारी भएको बताएका छन्।
अन्य दलसँग पनि सरकार गठनका बारेमा कुरा भएको स्वीकार गर्दै दाहालले गठवन्धनकै सरकार बनोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, सिके राउत र रेशम चौधरीलगायतसँग पनि भेट गरेको बताएका छन्। नेकपा एमालेसँग एकताका विषयमा बाहिर आएको जसरी कुरा नभएको अध्यक्ष दाहालले बताएका छन् ।
आफूले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि नगरेको दावी गर्दै दाहालले आफैंँ प्रधानमन्त्रीको रेसमा कुद्ने काम नगरेको बताएका छन् ।
राष्ट्रपति गैर राजनीतिक व्यक्ति हुने स्थिति नभएको स्पष्ट पार्दै उनले गठबन्धनभित्र या राजनीतिक दलहरु कसैसँग पनि यो विषयमा छलफल नगरेको बताएका छन् ।
सरकारले ल्याएको अध्यादेशको विषयमा उनले यसअघि भएका सम्झौता र सहमतिलाई सम्बोधन मात्र गरेको बताएका छन् ।
उनले भनेका छन् “नेपाल सरकारले विगत कालमा मधेश केन्द्रित दल, विप्लव नेतृत्वको नेकपा र थारु कल्याणकारी सभासँग भएको समझदारीलाई सम्बोधन मात्रै गरेको हो, यो सामान्य प्रक्रिया हो ।”
२०७४ को स्थानीय तहको निर्वाचन भन्दा पालिकामा माओवादीले बढी जितेको भन्दै अध्यक्ष दाहालले प्रदेशमा विगतकै हाराहारीमा रहेको बताएका छन् । समानुपातिकमा केही घटे पनि नेकपा एमाले र नेपाली कांग्रेसको तुलनामा कम घटेको बताएका छन् । सङ्घमा अपेक्षा गरे भन्दा कम आएको भन्दै उनले यसको समीक्षासमेत भइरहेको बताएका छन् ।