काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर परिणाम सार्वजनिक गर्ने भएको छ भने केही दिनमा राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाउँदैछ ।
निर्वाचनमा कुनै दलले पनि वहुमत प्राप्त गरेका छैनन् भने सत्तारुढ पाँच दलीय गठवन्धनले पनि वहुमत ल्याउन सकेन । अब हालकै गठवन्धनको सरकार बन्ला कि नयाँ गठवन्धन बन्ला भन्ने चौतर्फी चासो छ ।
संसदको पहिलो दल नेपाली कांग्रेस, दोस्रो एमालेको नेतृत्वमा सरकार बनाउने प्रयास भइरहेको छ । तेस्रो माओवादीले पनि सरकारको नेतृत्व लिन कसरत गरिरहेको छ । राजनीतिक विश्लेषकहरुका अनुसार हालका गठवन्धनले वहुमत जुटाएर सरकार बनाउन अध्यादेश ल्याएको बताएका छन् । त्यसकारण कांग्रेसको नेतृत्वमा वर्तमान गठवन्धनकै सरकार बन्न सक्ने बताएका छन् । दोस्रो वर्तमान गठवन्धनको सरकार तथा माओवादीको नेतृत्वमा हुने पनि विकल्प हुन सक्ने बताइन्छ । यता एमालेको नेतृत्वमा कांग्रेस वाहेकको सरकार बन्न सक्ने सम्भावना पनि त्यतिकै छ । त्यस्तै संसदको पहिलो कांग्रेस र दोस्रो एमाले मिलेर सरकार बनाउन सक्ने आँकलन पनि भइरहेको छ ।
सरकार बनाउने अनेक अड्कलबाजी भइरहेका बेला प्रमुख कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वार्ता पनि भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक संवादमा गरिरहेका छन् । सोमबार कांग्रेसका नेता अर्जुनरसिंह केसीसँग संवाद गरेका ओलीले मंगलबार साँझ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङसँग वार्ता गरेका छन् ।
ओली र गुरुङबीचको भेटवार्तालाई २०७४ मा बनेको गठबन्धन भत्किएर एमाले र माओवादीमासमेत विभाजन आएको अवस्था यी दुई दलबीच फेरि मिल्ने प्रयास सुरु भएको हुन सक्ने आँकलन गरिएको छ ।
बालकोटमा एक घण्टा बढी भएको दुई नेताबीचको संवादबारे दुवै पक्षले केही खुलाएका छैनन् । माओवादी महासचिव गुरुङले वाम गठवन्धनका पक्षमा रहेका नेता हुन । उनले एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङसँग पराजित भएपछि उनलाई वधाई दिँदै वाम एकताको पहल गर्न आग्रह गरेका थिए ।
एमालेले आफू बाहिरै बसेर भए पनि सरकार गठनका लागि समर्थन गरेर गठबन्धन विभाजनको गर्ने रणनीति पनि बनाइरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । ओलीले कांग्रेसदेखि माओवादी र अन्य दलका नेताहरुसँग पनि छलफल गरिरहेका छन् ।
यसअघि मंसिर १९ मा एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।
महासेठले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिन गएको बताएका थिए । उनले नेकपा हुँदैदेखि प्रचण्डसँग निकटता रहेकाले आफू खुमलटार पुगेको बताएका थिए। तर त्यसबेला पनि उनी बालकोटबाट ओलीको सन्देश लिएर खुमलटार पुगेको र अहिले प्रचण्डको सन्देश लिएर महासचिव गुरुङ बालकोट पुगेको बताइन्छ ।
पछिल्लो समय एमाले र माओवादी दुवै दलका दोस्रो तहका नेताहरु फेरि पनि मिलेर जानुपर्ने पक्ष लविङ गरिरहेका छन् ।
कम्युनिष्टहरुको अस्तित्व संकटमा पर्न नदिन वामशक्तिहरु एकजुट हुनेपर्ने दुवै दलका दोस्रो तहका नेताहरुको तर्क छ ।
कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउन खोजेको र त्यसका लागि सम्वाद भएको आफूले थाहा पाएको प्रचण्डले केही दिनअघि बताइका छन् । कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउन खोजे आफूहरुले पनि विकल्प खोज्नुपर्ने अवस्था आउने प्रचण्डले पार्टीका नेताहरुसँग वताएको स्रोतको दावी छ ।
प्रचण्डले भनेको विकल्प एमालेसँग मिलेर सरकार गठन हुन सक्ने बताइएको छ । प्रचण्ड आलोपालो सरकारको नेतृत्व गर्न तयार तर पहिलो चरणमा आफूले पाउनु पर्ने पक्षमा छन् । यदि सरकार बनाउने प्रयास असफल भए माओवादी प्रतिपक्षमा बस्ने प्रचण्डले संकेत गरेका छन् । एमालेसँग माओवादीले बढाएको सम्वादलाई नेपाली कांग्रेसँग वार्गेनिङ गर्ने शक्ति आर्जनका लागि हुने सक्ने आशंका पनि गरिएको छ ।



















