काठमाण्डौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भए पनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताएका हुन् । उनले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली काँग्रेसले सोच्नुपर्ने बताए ।
उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव रिमालले समझदारीका रुपमा अघि नबढे मुलुकमा अस्थिरता पैदा हुने बताए । उनले गठबन्धनमा रहेका नेता र दलहरुले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताए ।
गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा नेकपा एमालेका ३६ जना उम्मेदवारहरुमाथि निर्वाचनमा हराउने क्याम्पियन चलाउनु रहेको बताए । उनले गत निर्वाचनमा ३६ जना नेकपा एमालेका उम्मेदवारहरुमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने क्याम्पियन चलाइएको आरोप लगाए । उनले नेकपा एमालेले निर्वाचनमा ६ प्रतिशत भोट बढाउने भने पनि ६ प्रतिशत भोट घटेको बताए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिट संख्याको बारेमा चुनावअघि कुनै पनि राजनीतिक कल्पना नै नगरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिटका कारण अहिलेको निर्वाचन परिणाम फरक भएको बताए ।
उपमहासचिव रिमालले धनुषा २ नम्बर क्षेत्र, कपिलवस्तुको २ नम्बर र दाङ २ नम्बर क्षेत्र लगायतका केही ठाउँमा अनपेक्षित रुपमा नतिजा आएको बताए ।
उपमहासचिव रिमालले नेकपा एमाले जनादेशको हिसावले देशको ठूलो पार्टी भए पनि अंक गणितका हिसावले ठूलो बन्न नसकेको बताए । उनले नेपाली काँग्रेस र नेकपा एमालेमा स्वतन्त्रताको भिन्नता रहेको बताउए । उनले नेपाली काँग्रेस गठबन्धनमा रहेका कारण स्वतन्त्र बन्न नसक्ने तर नेकपा एमाले भने आफू अनुकूलको निर्णय गर्नसक्ने बताए । उनले अहिलेको गठबन्धन जनताहरुबाट अस्वीकृत भएको कुरा निर्वाचन परिणामले देखाइसकेको बताए ।
उपमहासचिव रिमालले नयाँ सरकारका लागि काँग्रेस गठबन्धनमा रहेका कारण सहजै बहुमत बनाउने स्थितिमा रहेको बताए । उनले काँग्रेस गठबन्धनमा रहेकाले नेकपा एमालेले तत्काल नयाँ सरकारका लागि पहल गर्छ भनेर सोच्नु नहुने बताए ।
उनले गठबन्धनमा रहेका पार्टीहरु स्वतन्त्र नहुन्जेलसम्म नेकपा एमालेले सरकार बनाउनका लागि पहल नगर्ने बताए । उपमहासचिव रिमालले गठबन्धन सत्तापक्षमा रहे उसले विपक्षमा रहने एमालेसँग सहकार्य गरेर गए देशमा स्थिरता आउने बताए । असहमतिमा गठबन्धन अघि बढे राजनीति झनै अस्थिरताको चक्रमा जाने दाबी गरे ।




















