काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली कायम रहे कम्युनिष्टको नाममा भोट माग्नेहरु समाप्त हुने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तविहीन भएको बताए ।
उनले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताए । उनले निर्वाचनमा संलग्न कम्युनिष्ट पार्टीका नेताहरुलाई नातावाद, कृपावाद, भ्रष्टाचार र तस्करीको आरोप लाग्ने गरेको भन्दै त्यसैले कम्युनिष्ट पार्टीहरुलाई जनताले कारबाही गरेको बताए । संसदवादी कम्युनिष्ट पार्टीहरुले समाजवादी राज्य प्रणाली नचाहेको आरोप लगाए ।
उनले भने, ‘अहिलेको यो संसदवादी व्यवस्था र कम्युनिष्टको नाममा विकृतिकरण, भ्रष्टिकरण, सिद्धान्त, राजनीतिमाथि वकालत गर्ने काम संसदवादीहरुले गरे ।’
उनले भने, ‘उनीहरुको व्यवहार सारा जनताले भनेको छन्, नातावाद, कृपावाद, भ्रष्टचारी, तस्करी, फाइदाको निम्ति आफ्नो घरबेटीहरु च्याप्ने । यो प्रणाली रहिराख्यो भने कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जानेवाला छन् भोलि । चाहे त्यो प्रचण्ड होस् । चाहे कुनै पनि व्यक्ति किन नहुन् । संसदवाद, प्रतिक्रियावाद उसले आफ्नो प्रकारको राज्य प्रणाली चाहन्छ । समाजवादी प्रकारको चाहँदैन ।’
उनले साम्राज्यवादी शक्तिहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई निर्वाचनबाट परास्त गरेको बताए । संयोजक बाँस्तोलाले निर्वाचनबाट नयाँ शक्तिहरुको उदयको नाटक देखाइएको टिप्पणी गरे । नयाँ शक्तिहरुसँग कुनै नीति र कार्यक्रम नभएको भन्दै उनले जनताको भावनासँग खेलेर तथाकथित विकल्पको रुपमा देखाउने कोसिस गरिएको उल्लेख गरे ।
उनले कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्नेमा जोड दिए । सशक्त प्रकारको कम्युनिष्ट आन्दोलन निर्माण गर्न क्रान्तिकारी कार्यदिशा बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।




















