बागलुङ जिल्ला म धेरै पटक आएकाे छु । सायद पहिलाे पटक ०५३ सालतिर आएकाे थिए । त्यसबेला बागलुङ बजार र कालिका मन्दिर घुमेकाे थिए। जिल्लाकाे अन्य भाैगाेलिक अवस्था र राजनीतिक स्थिति बुझ्ने प्रयास गरेकाे थिए। बागलुङ जिल्ला राजनीतिक रूपमा निकै लामाे समय नेकपा( मसाल) काे पकड भूमिका रूपमा रहयाे । यहाँबाट चित्र बहादुर केसी,परि थापा पटक- पटक सांसद भए । एमाले र कांग्रेसबाट पनि सासंद भए । कांग्रेसबाट एक जना मीन बहादुर खत्री राज्यमन्त्री भएका पनि थिए । राजाकाे शासनकालमा हामीले जिविस र बागलुङ नगरपालिकाकाे विकास निर्माण र सुशासनकाे गतिविधिबारे टेलिभिजन कार्यक्रम बनाएर नेपाल टेलिभिजनबाट प्रशारण गराएका थियाै । तत्कालीन शाही अञ्चल प्रशासक रामजी विष्ट,नेपाली सेनाका बाहिनीपति सहायक रथी नरबहादुर कडेल, रेग्मी थरका सिडिओ,प्रहरी प्रमुख आदिसँग दुईतिन दिनसँगै जिल्ला घुमेका थियाै ।
त्यसपछि २०७१ साल जेठ अन्तिमतिर हाेला प्रकाश न्याैपानेजीले बागलुङ जानुपर्याे भन्नु भयाे । म सिरहाकाे लहान बस्तीपुरतिर थिए,सिधै पाेखरा आए। पाेखरामै प्रकाशजीलाई भेटेर हामी बागलुङ गएका थियाै। पुष्पलाल मध्यपहाडी लाेकमार्ग बन्दै थियाे । त्याे लाेकमार्गकाे निर्माणकाे अवस्था कस्ताे छ भनेर भाैतिक पुर्वाधार सचिव तुलसीप्रसाद सिटौलाले चासाे राख्नु भएकाे थियाे र हामीलाई बुझेर आउन भन्नू भयाे । म, क्यामेरामेन, प्रकाशजी हटिया, हरिचाैर, बुर्तिवाङ, ढाेरपाटन हुँदै हामी रूकुम सिमासम्म पुगेका थियाै । हटिया पुग्न लाग्दा ठुलाे मुसलधारे पानी परेर झण्डै गाडि दुर्घटना भयाे । हामी बालबाल बच्याै । मध्यपहाडि लाेकमार्गकाे काम हुँदै थियाे। दरम खाेला,भिमगिठ्ठिमा पुल बन्दै थियाे । बुर्तिवाङ शहरकाे विकास हुँदै थियाे । अहिले रेल विभागका महानिर्देशक रहेका राेहित विसुराल सिडिईका रूपमा त्यसबेला मध्यपहाडि लाेकमार्गकाे बागलुङ खण्डकाे सडक र पुलकाे साइड हेर्नू हुन्थ्यो । उहाँ गुणस्तरीय काम गराउनु हुन्थ्यो । लाेकमार्गकाे रेखाकंनमा नै विवाद थियाे। उहाँले सबै मिलाएर सडक बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएकाे थियाे । यसपाली बागलुङ भ्रमण गर्न आउदा द्वन्द्वकालमा बागलुङमा काम गरेकाे, बागलुङ- हटिया- हरिचाैर- बुर्तिवाङ- ढाेरपाटन लगायतका दुर्गम ठाउँ भ्रमण गरि मध्यपहाडि लाेकमार्गकाे भिजुअल खिचेकाे याद आयाे ।
गण्डकी प्रदेशमा पर्ने पहाडी दुर्गम जिल्ला बागलुङ साविक धौलागिरी अञ्चलको अञ्चल सदरमुकाम समेत रहेको जिल्ला हाे । नेपालकाे प्रशासनिक विभाजन अनुसार यस जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रोल्पा, रुकुमपुर्व, उत्तरमा म्याग्दी तथा दक्षिणमा प्यूठान र गुल्मी जिल्ला रहेका छन् । यस जिल्लामा प्रतिनिधि सभाकाे २ वटा निर्वाचन क्षेत्र, प्रदेश सभाका ४ वटा निर्वाचन क्षेत्र, ४ नगरपालिका, ६ गाउँपालिका गरी १० वटा स्थानिय तह रहेका छन् । यो जिल्ला अक्षांशीय हिसाबले २८ डिग्री १५ मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांशसम्म र देशान्तरीय हिसाबले ८३ डिग्री पूर्वी देशान्तर देखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशान्तरसम्म १७८४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको छ । लोक्ताको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले पनि बागलुङ जिल्ला परिचित रहेछ । याे जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ ।
यस जिल्लामा मुख्य रुपमा ब्राह्मण, क्षेत्री,आदिवासी जनजातिहरु मगर समुदायको बसोबास रहेको छ । मुख्य पेशा कृषि रहेको र यस जिल्लामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको छ। विप्रेषण भित्र्याउने प्रमुख जिल्लाहरुमध्येमा बागलुङ जिल्ला पनि चिनिन्छ ।
बागलुङ कालिका भगवती मन्दिर, नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, गाँजा दह, घुम्टेको लेक जस्ता महत्वपूर्ण सम्पदाले यसको पहिचानलाई अझ शिखरमा पुर्याएकाे छ । चैते दशैं मेला, हनुमान नाच, लाखे नाच जस्ता सांस्कृतिक पर्वहरु, रुद्र ताल, गाँजाको दह, नील दह जस्ता प्रमुख ताल एवं कुण्डहरु, यानीमाया, सालैजो, सोरठी नृत्य, घाँटु नाँच लगायतका लोकसंस्कृतिको धनी यस जिल्लाका प्रमुख व्यापारिक महत्वका ठाउँहरुमा बागलुङ बजार, बुर्तिबाङ बजार, हटिया बजार, शेरा बजार, खार बजार, हरिचौर बजार आदि रहेका रहेछन ।
यस जिल्लामा मुख्य रुपमा ब्राह्मण, क्षेत्री,आदिवासी जनजातिहरु मगर समुदायको बसोबास रहेको छ । मुख्य पेशा कृषि रहेको र यस जिल्लामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको छ। विप्रेषण भित्र्याउने प्रमुख जिल्लाहरुमध्येमा बागलुङ जिल्ला पनि चिनिन्छ ।
यस जिल्लाको नाम बागलुङ रहनुमा धेरै किम्बदन्तीहरू रहेको पाइन्छ संस्कृत भाषामा व्यांघ्रालुनातीति शब्दमा “व्याघ्रको” अर्थ “बाघ” “लुनातीति”को अर्थ “लुञ” अर्थात छेदनु/ काट्नु वा मास्नु हो । कुनै समयमा यस ठाउँमा बाघै बाघहरूको ताँती हुनुको कारण यहाँको जनजीवन अति नै भयावह थियो । यस्तो डरलाग्दो वा दयनीय अवस्थालाई देखेर त्यस बेलामा मगर जातिका बलिया व्यक्तिहरूको समूहहरूको सक्रियतामा ती बाघहरूलाई छेदनु/ काट्ने वा मास्ने जस्ता काम गरेका हुँदा बाघहरूलाई मास्ने उद्देश्यले गरेको कार्यको अर्थमा यस ठाउँको नाम “बाघ्रलुञ वा ब्याघ्रलुञ” रहन गई अपभ्रंश भई बागलुङ रहन गएको मानिन्छ।त्यस्तै गरी बाघ प्रचलित खस भाषा हो । “लुङ”को अर्थ लस्कर वा ताँती पंक्तिवद्ध वा लामको अर्थलाई जनाउँछ । त्यस समयमा बाघहरूको लस्कर लाग्ने थलो भएकोले यस ठाउँको नाम “बाघलुङ” रहन गएको र पछि बागलुङ भएको हो भन्ने भनाई पनि रहेको छ।
मगर भाषामा “वाग”को अर्थ कहीं केही उठेको खण्ड र “लुङ”को अर्थ कहींकेही मैदान वा समथरलाई बुझाउँछ। यसर्थ “बागलुङ”को भौगोलिक वनावटलाई हेर्ने हो भने कतै उठेको र कतै मैदान वा समथर जमीनको भाग भएकोले पनि यस ठाउँको नाम बागलुङ रहन गएको हो भन्ने भनाइ पनि छ।
सोह्र हजार पर्वतको नामले प्रसिद्ध यस जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो। जुन समयमा कोट कोटबाट भुरे टाकुरे राजाहरूले राज्य चलाउँदथे। ती कोट मध्ये यस जिल्ला अन्तर्गत पर्ने गल्कोट, बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट प्रसिद्ध मानिन्थ्यो ।
चौधौ शताव्दीमा जुम्लामा राजाहरूले आफ्नो राज्य विस्तार गर्ने क्रममा विसं १४२९ तिर मले बम जुम्लाको राजगद्दीमा बसेपछि पूर्व तर्फका धेरै राज्यहरू जिते। बागलुङ जिल्लाका निशेल भुजेल भन्ने चार हजार पर्वत ईलाकामा त्यस बेला मगरहरूको रजाइँ थियो । जुन समयमा रुकुममा मलेबम्का छोरा पिताम्बर र नाति जैतुबम्ले शासन चलाएका थिए । मगर राजाहरूले यस जिल्लाको राज्य प्रभावकारी रूपमा सञ्चालन गर्न रुकुमको राजधानी गोथाममा गई राजा जैतुबम्का आठ भाइ राजकुमार मध्ये एउटा मागे । राजाले जेठा छोरा बाहेक बाँकी भाइमा रोजेर लाने आज्ञा दिएकोले राती सुतेको ठाउँमा हेर्न जाँदा माहिला राजकुमार आनन्दवम्को शिरतिर बढेको देखि उनलाई पिठ्यूँमा बोकेर भुजेलहरूले पर्वतमा ल्याए ।
यसपाली बागलुङ भ्रमण गर्न आउदा द्वन्द्वकालमा बागलुङमा काम गरेकाे, बागलुङ- हटिया- हरिचाैर- बुर्तिवाङ- ढाेरपाटन लगायतका दुर्गम ठाउँ भ्रमण गरि मध्यपहाडि लाेकमार्गकाे भिजुअल खिचेकाे याद आयाे ।
पर्वतेहरूले यी राजालाई तीन नामले पुकार्दथेः- गोथामबाट ल्याएको गोथम्ब, पिठ्यूँमा बोकेर ल्याएकोले पिठम्ब र आउने राजकुमारको नाम आनन्द भएकोले आनन्द । राजाका साथमा मुडुला कार्की, रुचाल तथा पौडेलहरू पनि आएको किम्बदन्ती छ। विसं १५१० तिर आनन्दवम सोलेपार पर्वतका राजा बने। त्यस बेलासम्म पनि गल्कोट, बिहुँकोट र चन्द्रकोटामा भुरे राजाहरूले राज्य गर्दथे, जसमध्ये बलेवा र बागलुङ माझकोट अन्तरगत र थन्थाप चन्द्रकोट अन्तर्गत थिए ।
आनन्द बम र चन्द्र बमपछि डिम्ब नामको दिलिपले आफ्नो शासनकालमा बिहुँकोट, गल्कोट र ताकमलाई विजय गरी आफ्नो राज्यलाई ४००० पर्वतबाट १४००० पर्वत पुरयाए। उनले राज्यमा सु-व्यवस्था ल्याउन आफ्ना माहिला भाइलाई डाँडाकोट, साहिँला भाईलाई विहुँकोट र कान्छा भाईलाई गल्कोटमा राखेका थिए। राजा डिम्ब वर्षा याममा ढोरमा र हिउँदमा ताकममा बसी राज्य चलाउँथे। ह्यामिलटनको भनाइ अनुसार “गल्कोट एउटा सानो राज्य थियो,जहाँ ३ हजार घरहरू थिए। राजाको दरबार पहाडको टाकुरामा थियो । त्यस दरबारको वरिपरि ५ सय खरका झुपडीहरू थिए । यहाँ ३ वटा तामा र १ फलाम खानी थियो। खानीहरूमा केही आधिकारीक व्यक्तिहरूले मात्र काम गर्न पाउँथे। राजाको बार्षिक आम्दानी रु. ३५००।- थियो । यहाँका राजाले बिना कुनै युद्व नै गोर्खाली सेना अगाडि समर्पण गरेका थिए ।”
यस गल्कोट राज्यको बारेमा इतिहासकार कर्क प्याट्रिकले पनि लेखेका छन । उनको भनाइ अनुसार “गल्कोट एउटा ठूलो शहर थियो र गल्कोट नामको एउटा ठूलो किल्ला थियो । यो गल्कोट चौविसी राजाहरू मध्ये एक थियो ।” एक वंशावली अनुसार राजा डिम्बका पालामा गण्डकी र कर्णाली प्रदेशका राजाहरूले दिल्लीका बादशाह कहाँ पाँच-पाँच वर्षमा सिर्तो लैजाने गर्दथे । त्यस सिर्तोमा आफ्ना राज्यमा पाइने कस्तुरीको विना, बाज, डाँफे, मयुर, चितुवाको छाला, पश्मिनाको पछ्र्यौरा आदि हुन्थे । राजा डिम्बले पनि युवराज नाग बमलाई विसं १५३० तिर दिल्ली पठाए । बादशाहबाट “मल्ल” भन्ने पदवी दिईएको हुँदा युवराज नाग बम त्यसवेला देखि नाग बम मल्ल भए ।
यिनैको पालामा जितेको मादीखोला पूर्वको डाँडाकोटलाई त्यहाँका क्षेत्रीहरूले मल्ल राज्य भनी नाउँ राखे, जुन आज पनि राजभक्ति देखाएकोले मल्ल राज्यको नामले प्रसिद्ध छ । राजा डिम्व १२० वर्ष सम्म बाँचेका थिए भन्ने जनश्रुति छ । यिनले ८४ वर्षको उमेरमा आफ्नो जेठा छोरा नाग बम पनि अस्वस्थ्य भएकोले एक मात्र नाति प्रतापी नारायणलाई विसं १५९० तिर पर्वतको राज्य सुम्पे । यिनको शासन कालमा यहाँ प्रशस्त मात्रामा जङ्गल भएकोले पशुपालन र अन्य धेरै काममा महत्वपूर्ण स्थान थियो। नुन र सुन भोट तिरबाट पैठारी हुन्थ्यो । प्रतापी नारायण मल्लले राजा हुने बित्तिकै पाल्पाली राजा मुकुन्द सेनकी छोरीसँग विवाह गरे ।
पाल्पाली राजाले छोरीलाई कालिका देवीको मूर्ति दाईजो दिएर पठाए । हाल कालिका भगवती मन्दिर भए ठाँउमा बास बसे। साे मुर्ति बिहान लिएर जान खाेज्दा उठाउन नसकेकाे र यही बस्ने चाहाना गरेकाले त्यही मुर्ति राखी स्थापना गरिएकाे थियाे। हाल सो मूर्ति बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार नजिक कृष्ण गण्डकी र काठेखोलाको दोभाननिर एउटा हात्ती सुँडे आकारको रमणीय वनमा निर्मित मन्दिरमा कालिका भगवती देवीको नामले प्रसिद्व छ । देवीको साथमा पाल्पाबाट खड्ग समाती आउने खड्का क्षेत्रीलाई पूजारी बनाए । राजा प्रतापी नारायणले स्थापना गरेको यस मन्दिरको पूर्व ढोका खोल्नु हुँदैन भन्ने किम्बदन्ती अझै पनि प्रचलित छ। यस मन्दिरको पूजा खर्चको निमित्त राजाले गुठी राखी दिएका थिए । राजा प्रतापी नारायणको पाल्पासँग वैवाहिक सम्बन्ध पछाडि चौविसी राज्य पाल्पा र पर्वत बलिया राज्य भए । यिनको करिव ३० वर्षको शासनकाल पछाडि आफ्ना जेठा छोरा किराती बम मल्ललाई गल्कोट माहिला राज बम मल्ललाई पर्वत र कान्छा कल्याण बम मल्ललाई कास्कीको राज्य सुम्पी आफु काशीबास गए ।
पृथ्वी नारायण शाहको नेपालको एकिकरण अभियानमा गुल्मी, अर्घाखाँची, प्युठान, पर्वत कब्जा गरी अन्त्यमा बलेवा हुँदै बागलुङ समेत नेपाल अधिराज्यमा गाभिएकाे थियो । बागलुङ केही वर्ष अघिसम्म एक दुर्गम जिल्ला थियाे तर अहिले मध्यपहाडि लाेकमार्ग बनेपछि धेरै सुगम भएकाे छ । गाउँ -गाउँ पुग्ने ग्राभेल सडक बनेका छन । सबै पालिकामा सडक यातायात पुगिसकेको छ ।