काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काउनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले शुक्रवार लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी गुरुङलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चुनावको परिणामले अस्थिर राजनीतिलाई मलजल गरेको भन्दै स्थिरताका लागि वाम एकता आवश्यक भएको बताएका हुन ।
सबैले घेराबन्दी गरेका कारण एमालेले चुनाव जितेर पनि हारेको बताउँदै गुरुङले जनताले लोकप्रिय मतमा पहिलो बनाएको बताए ।
नामले वाम भएकाहरू अहिले दक्षिणपन्थी गठबन्धनमा रहेको बताउँदै गुरुङले उनीहरूलाई आग्रहपूर्वाग्रह नराखी गठबन्धनबाट बाहिर ल्याउने प्रयास गर्नुपर्ने बताएका छन् ।
अब एमालेकै नेतृत्वमा वाम सरकार निर्माणका लागि प्रयास गर्नुपर्ने उनले बताएका छन् ।
६ वटा प्रदेशमा एमाले पहिलो शक्ति रहेपनि प्रत्यक्ष सीटमा क्षति भएकाले लक्ष्यअनुरूप जित्न नसकिएको उपमहासचिव गुरुङले बताएका छन् ।
गुरुङले तत्कालीन नेकपाको एकता जोगाउन नसक्दा कम्युनिस्ट कमजोर भएको भन्दै अब एमालेकै नेतृत्वमा वामपन्थीहरुबीच कार्यगत एकताको वातावरण बनाउनुपर्ने बताएका छन् ।