काठमाडौं । ४ मंसिरमा भएको निर्वाचनको समानुपातिकतर्फको १ करोड ७ लाख मतगणना हुँदा नेकपा एमालले अग्रता कायम राखेको छ ।
समानुपातिकतर्फ अब बढीमा ३ लाख मात्रै मत गणना हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
कुल खसेको १ करोड १० लाख मतमध्ये अहिलेसम्म १ करोड ७ लाख मत गणना भइसकेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो। गणना भएको मध्ये ५ प्रतिशत मत बदर भएको उहाँले बताउनुभयो। १ करोड २ लाख २२ हजार २२२ मत सदर भएको आयोगले जनाएको छ । स्याङजा क्षेत्र नम्बर २, बाजुरा र दोलखाको मत गणना हुन बाँकी रहेको छ ।
स्याङजामा मतगणना भइरहेको छ भने बाजुरामा मत गणना सुरु हुन सकेको छैन। दोलखाको १० वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै पुन मतदान सुरु भएको छ। समानुपातिकतर्फको गणनामा सदर मत मध्ये २७ लाख २८ हजार ३०५ मत ल्याएर नेकपा एमाले पहिलो दल बनेको छ ।
२५ लाख ९६ हजार ४२३ मत ल्याएर नेपाली कांग्रेस दोस्रो दल बनेको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार ५९१ मत ल्याएर तेस्रो दल बनेको छ।
संघीय संसद्को पहिलो चुनावमा प्रतिष्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी भन्दा केही कम ११ लाख ६ हजार ९१ मत ल्याएर चौथो दल बनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८० हजार ४३४, जनता समाजवादी पार्टी नेपालले ४ लाख १२ हजार ८५८ र जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत ल्याएर थ्रेस होल्ड कटाएका छन्।
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले २ लाख ९२ हजार १५८ मत ल्याएको छ। उसले थ्रेसहोल्ड कटाउन सकेको छैन । मत गणना जम्मा ३ लाख मात्रै बाँकी रहेकाले समाजवादी पार्टीले थ्रेसहोल्ड कटाउन सम्भावना कमजोर बनेको छ ।




















