काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९८ लाख पाँच हजार नौ सय ३२ मतगणना भएको छ ।
गणना भएको मत अनुसार नेकपा (एमाले)ले नै अगाडि छ । एमालेले २६ लाख ४२ हजार ७६७ मत प्राप्त गरेको छ । यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ लाख ९८ हजार ५०७ मत प्राप्त गरेको छ ।
त्यस्तै तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख २७ हजार ६७० मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार ५४० मत प्राप्त गरेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५९ हजार ०५० मत प्राप्त गरेका छ भने जनता समाजवादी पार्टीले ३ लाख ७६ हजार २५८ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार जनमत पार्टीले ३ लाख ३२ हजार ९७५, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ७६ हजार ८९१ मत प्राप्त गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार ०८१, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४१ हजार ९७१, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ४२९, हाम्रो नेपाली पार्टीले ५३ हजार ४६९ मत प्राप्त गरेको छ । अन्य पार्टीहरुले ५० हजार मत पनि कटाएका छैनन् ।
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।
आयोगका अनुसार अब लगभग तीन लाख मत गन्न बाँकी छ । यसरी हेर्दा तीन प्रतिशत मत ल्याउन ३ लाख २० हजार लगभग ल्याउनु पर्ने हुन्छ । हालसम्मको मत परिणाम, दलहरुले प्राप्त गरेको मत र त्यसको रेसियो हेर्दा नेकपा एकीकृत समाजवादीले तीन प्रतिशत मत कटाउने सम्भावना न्यून देखिएको छ । यसले गर्दा सत्तारुढ पाँच दलीय गठवन्धनको वहुमत नपुग्ने निश्चित प्रायः भएको छ ।



















