गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते सम्मन्न निर्वाचनको परिणाम अपेक्षा गरे अनुसार नआएको बताएका छन् । विजयी उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिन गोरखामा आयोजित सभामा बोल्दै दाहालले भने, ‘अपेक्षा अनुसार नतिजा आएन । गठबन्धन दलहरुले केहि गृहकार्य गर्नुपर्ने देखिएको छ । जस्तो परिणामको अपेक्षा थियो । अब काठमाडौं गएपछि गठबन्धनको बैठक बस्नुपर्नेछ, राजनीति विचार, सिद्धान्त, एजेण्डा नभइ आवेगमा भ्रमित पार्ने संकेत देखा परेको छ ।’
गोरखाका जनताको माया र जिम्मेवारीलाई आफूले जीवनको अन्तिम समयको अवसर र चुनौतीको रुपमा बुझेको बताएका छन् । प्रदेश र स्थानीय तहमा पुगेको सिंहदरबारको अधिकार यो निर्वाचनबाट उल्टाउने चेस्टा गरेको आरोप उनको छ ।
परिवर्तनको रक्षामा गोरखाली जनताले रक्षा गर्न अपील गर्दै उनले राजनीतिक दलहरुले आत्मसमीक्षा गर्न जरुरी रहेको बताएका छन् । अहिले नै सबै बर्बाद भयो भन्ने केही पनि छैन भन्दै उनले राजनीतिक दलहरुले गम्भीर रुपमा आत्मसमीक्षा गर्नुपर्ने देखिएको बताएका छन् । जनताको निम्ति समर्पित हुने नीति तथा कार्यक्रम ल्याएन भने देश अप्ठ्यारोमा पर्ने उनले बताएका छन् ।
विचार र सिद्धान्तको अवमुल्यन हुने खतरा देखा परेको भन्दै राजनीतिक नेतृत्वले सोच्नुपर्ने अवस्था आएको प्रचण्डको भनाइ छ ।
पछिल्लो निर्वाचन मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा विजय हाँसिल गरेको छ भने ६ क्षेत्रमा अगाडि छ ।



















