काठमाडौं । काठमाडौं क्षेत्र नंं ९ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा सीमित भएकी छिन् ।
काठमाडौंमा लगातार आठौं पटक संसदीय निर्वाचन लडेका श्रेष्ठको यो चौथो जित हो । उनी २०४९, २०५१ र २०७४ सालका आम निर्वाचनमा विजयी बनेका थिए ।
२०४९ सालमा काठमाडौंका दुई क्षेत्रबाट विजयी नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीले छाडेको क्षेत्र नं। ५ को उपनिर्वाचनमा श्रेष्ठ विजयी भएका थिए ।
२०७० सालको निर्वाचनपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको काठमाडौं–२ को उपनिर्वाचन (२०७१) मा भने उनी पराजित भएका थिए । त्यस्तै, २०५६ को संसदीय तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी पराजित भएका थिए ।
२०१५ असोज १५ गते जन्मिएका श्रेष्ठ २०३७ सालमा अनेरास्ववियुले आयोजना गरेको नेपाल बन्दमा सहभागी भएर राजनीति सुरु गरेका थिए । उनी त्यसयता पटक–पटक जेल पर्दै आएका छन् । लामो समय एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका उनी पार्टीबाट पर्याप्त अवसर पाउने नेता मध्येमा पर्छन ।
स्थानीय विकास राज्यमन्त्री, वन तथा वातावरण मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, युवा तथा खेलकुद मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, शहरी विकास मन्त्री र शिक्षा मन्त्री भइसकेका छन् ।
२०७४ को संसदीय चुनावमा श्रेष्ठले काठमाडौं–९ मा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मतले पराजित गरेका थिए । श्रेष्ठले २२ हजार ८५२ र रञ्जितले १४ हजार ८०२ मत पाएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने रञ्जितबाट श्रेष्ठ पराजित भएका थिए । त्यो बेला कांग्रेसका रञ्जितले १४ हजार ४८३ र एमालेका श्रेष्ठले १३ हजार १०० मत पाएका थिए ।



















