गोरखा । नेकपा एमालेले गोरखामा पुनः मतदान गर्न माग गरेको छ । लोकतान्त्रिक–वाम गठबन्धनले विभिन्न मतदान केन्द्रमा धाँधली गरेको आरोपसहित विज्ञप्ति जारी गरी एमालेले ती मतदान केन्द्रमा पुनः मतदानको माग गरेको हो ।
‘स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित निर्वाचनको मूल मर्ममाथि प्रहार गर्दै अपवित्र र अराजनीतिक गठबन्धन पक्षधरबाट गोरखाका निर्वाचन क्षेत्र नं. १ र २ का विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताको नाममा मतदान गर्ने, अन्य उम्मेदवारका प्रतिनिधिहरुमाथि हातपात गर्ने जस्ता अवाञ्छित क्रियाकलाप भएको छ’, पार्टीका जिल्ला समिति सचिव काजीराम रोकाद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘मतदान केन्द्रहरुमा भएको अवाञ्छित गतिविधिहरुको घोर भत्र्सना गर्दै उक्त क्रियाकलापप्रति नेकपा एमाले असहति जाहेर गर्दछ । उक्त घटनाको निश्पक्ष छानविन गरी पुन मतदान गर्न निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गर्दछौँ ।’
भीमसेन थापा १ मसेलको विन्द्रावती मावि, भीमसेन थापा १ कै बालकल्याण आधारभूत विद्यालय, आरुघाट १ मान्वु, सिरानचोक ३ हर्मीको सरस्वती आधारभूत विद्यालय, बारपाक सुलिकोट ४ को हिमालय मावि, बारपाक सुलीकोट ६ को सूर्यज्योति मावि र धार्चे ३ को पार्वती आधारभूत विद्यालय मतदान केन्द्रहरुमा धाँधली भएको सो विज्ञप्तिमा दाबी गरिएको छ ।





















