बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका-४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
बिहान ७ बजे शान्तीपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताए ।
उनले हस्ताक्षरविना मतदान भएको भन्ने हल्ला भएपछि एक समूह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको बताए ।
‘अहिले मतदान स्थगित भएको छ,’ मतदान अधिकृत ढकालले भने,‘अहिले मतदानस्थल प्रहरीको नियन्त्रणमा छ । हामी पनि मतदान भित्रै छौं। मत च्यात्नेहरू मतदानस्थल बाहिर छन् ।’ मतपत्र च्यात्ने कुन पार्टी र समूहको हो भन्ने थाहा नभएको मतदान अधिकृत ढकालले बताए ।
मतदान अधिकृत ढकालले कति मतपत्र च्यातिएको भन्ने एकीन हुन नसकेको बताए। उनले मतपत्र च्यातिएपछि होहल्ला हुँदा केही मत मतपेटिकामा पनि हालेको हुन सक्ने आशंका गरे ।
मतदान अधिकृत ढकालले हल्ला भएजस्तो हस्ताक्षरबिनाको मतपत्र नरहेको बताउँदै पुनः मतदान सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारीमा रहेको बताए ।