काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नं. ५(२) का प्रदेश सभा उम्मेदवार दीपक निरौला र बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएको छ ।
शुक्रबार साँझ बूढानीलकण्ठ–६ स्थित एक घरबाट पैसा बाँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको घटनामा शुक्रबार राति प्रतिक्रिया दिँदै एमाले निर्वाचन कमिटी काठमाडौं ५ ले आपत्ति जनाएको हो ।
कमिटीले निकालेको प्रेस वक्तव्यमा पार्टीका शुभेच्छुक क्यान्सरपीडित तोक्तान लामालाई भेट्न गएको वेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाएको र नियन्त्रणमा लिएको उल्लेख छ ।
‘कुनै तथ्य र प्रमाणविना गैरराजनीतिक कुरा गरी चरित्रहत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यो घटना गरिएको छर्लंग छ’, प्रेस वक्तव्यमा उल्लेख छ।
यता, एमाले उम्मेदवार दीपक निरौलाले भने नेपाली कांग्रेसले समाजलाई आतंकित बनाउन खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
निरौलाले बिरामी तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक कुरा निकालेर आतंकित गर्न खोजिएको दाबी गरे ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतङ्कित पार्ने कार्य नगरेको राम्रो हुन्छ ।’
आफू राजनैतिक प्राणी भएको र गैरराजनैतिक काम आफ्नो आदर्श नभएको निरौलाको जिकिर छ । उनले पैसा बाँडेको कुनै प्रमाण भए लिएर आउन पनि चुनौती दिएका छन् ।
शुक्रबार साँझ मतदातालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले निरौलासहित तीनजनालाई हात्तीगौँडास्थित युरो स्कुल नजिकैबाट नियन्त्रणमा लिई महाराजगञ्ज वृत्तमा राखेको थियो । प्रहरीले उनीहरूलाई राति नै छाडेको थियो ।





















