वीरेन्द्रनगर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन अझै १५ वर्षसम्म कायम रहने दावी गरेका छन् ।
पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले देशको शान्ति र समृद्धिका लागि गरिएको गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि यो अझै आवश्यक रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले निर्वाचन जित्न आवश्यक रहेको तर्क गरेका छन् ।
त्यस्तै सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको अहंकारका कारण वाम गठबन्धन टुटेको बताएका छन् । ‘अब धोकेबाजसँग कुनै समीकरण हुँदैन’ भन्दै प्रचण्डले भने, ‘गिरिजाप्रसाद कोइरालासँगै मैले १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेर जोडेको गठबन्धन हो, यो चुनावसम्म मात्र होइन लामो समयसम्म कायम रहन्छ ।’
अध्यक्ष दाहालले पनि गठबन्धन १५ वर्ष जाने र देशमा शान्तिको नयाँयुगको सुरुआत हुने बताएका छन् । उनले भने, ‘यो गठबन्धन संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई अगाडि बढाउनका लागि गरिएको गठबन्धन हो ।’



















