काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताएका छन् ।
मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी भएका उनले नेकपा एमाले जनताको काम गरेर नै उचाइमा पुगेको बताएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताए । उनले यसपटक मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आमनागरिकहरु नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने दाबी गरे । उनले नेकपा एमाले विचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसावले संगठित र समर्पित रहेको बताए । जनताको काम गरेर एमालेले बनाएको उचाइलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको उहाँले बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका छन् । निर्वाचनको दिन नजिकिएसँगै नेताहरु अहिले जनताको घरदैलोमा पुगेर भोट माग्ने क्रम जारी छ ।




















