काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गरेका छन् ।
सोमबार सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि मात्रै गठबन्धन बनेको भन्दै गठबन्धनले चुनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गरेका हुन । अध्यक्ष ओलीले गठबन्धनले जिते फेरि राजनीतिक अस्थिरता हुने भन्दै राष्ट्रियता, बिकास र स्थिरताका लागि एमालेको जीत आवश्यक रहेको धारणा राखेका छन् ।
त्यस्तै उनले गठबन्धन देशका लागि अभिसाप भएकोले आगामी निर्वाचनबाट फाल्ने बताएका छन् । ओलीले वर्तमान गठबन्धनको सरकारले मुलुकको आर्थिक व्यवस्थालाई तहसनहस पारेको जिकिर गरेका छन् ।
उनले बिगतमा गरेका काम र वर्तमानका साथै भविष्यको योजना घोषणापत्रमा स्पष्ट राखेको जानकारी दिएका छन् ।
त्यस्तै अध्यक्ष ओलीले भगवमान राम, सीता र लक्ष्मणसँग दुस्मनी गर्न खोज्नेहरु सकिएको बताएका छन् । उनको यो अभिव्यक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित थियो । प्रचण्ड अहिले चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा छन्।
ओलीले भने ‘मैले भगवान राम(लक्ष्मण जन्मिएको, बसेको, खेलेको र राज्य चलाएको ठाउँमा राम जन्मभूमि ल्याउँदा एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए, लखेट्ने भयो भने, मलाई थाहा थियो, एमालेसँग दुस्मनी गर्नेहरु सकिन्छन्, राम, सीता र लक्ष्मणसँग दुस्मनी गर्ने पनि सिद्धिन्छन्।’
ओलीले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा चितवनको माडी नगरपालिकास्थित ठोरीलाई भगवान राम–लक्ष्मणको जन्मथलो भन्दै मूर्ति खडा गराएका थिए ।




















