काठमाडौँ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि समर्पित गरेको घोषणा गरेका छन् ।
थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र नं. २ (ख) प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै बस्नेतले भक्तपुरमा पुनः उम्मेदार हुुनुको प्रमुख कारण विकास र समृद्धिको साथमा जनताको चाहना पूरा गर्नु रहेको बताएका छन् ।
आफ्नो बाँकी जीवन राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा रही देश विकासमा लाग्ने बताउँदै बस्नेतले भने ‘मैले कुनै पनि कुराको नेतृत्व गर्दा आर्थिक लोभमा कहिले पनि परेको छैन। अबका दिनमा अझै बढी सक्रियतासाथ नेपाललाई विकसित राष्ट्र बनाउन लाग्छु।’
राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार आफूबाट नहुने बताउँदै उम्मेदवार बस्नेतले भने, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिवद्धतालाई शतप्रतिशत पुरा गर्नेछु।’
केपी ओली नेतृत्वको सरकारको पालामा भक्तपुरमा संघीय सरकारबाट मा २६ अर्बभन्दा बढी बजेट ल्याई पूर्वाधारका क्षेत्रमा काम गरेको बस्नेतले बताएका छन्। ‘जहाँ एमाले त्यहाँ विकास’ भन्ने अभियान नै चलाएको बस्नेतले बताएका छन् ।
एमाले जनताको सल्लाह बमोजिम चल्ने पार्टी भएकाले जनताको सुझावको आधारमा नै प्रतिवद्ध भएर काम गर्ने बताउँदै बस्नेतले भने ‘जनताले टर्च बालेर भक्तपुरमा गठबन्धन दल तथा नेताहरु छन् कि छैनन् भनि खोजिरहेका छन् ।’