कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावबाट माधवकुमार नेपालको पार्टी सकिने टिप्पणी गरेका छन् ।
शनिबार नेकपा एमालेले कैलालीको अत्तरियामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै उनको पार्टी आगामी चुनावबाट सकिने बताए ।
‘माधव नेपाल त यही चुनावबाट समाप्त हुन्छन्, माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानीको भिजाएर डल्लो पारेको पानी सुकेपछि फुट्छ’ उनले भने ।
एकीकृत समाजवादीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको दाबी गर्दै ओलीले भाँडो नै रित्तो भइसकेको दाबी गर्दै भने, ‘माधव नेपालको पार्टी त रित्तो भाँडो भइसक्यो । अलि अलि बाँकी होलान्, ४ मंसिरसम्म सबै आइसक्छन् ।’
एमाले अध्यक्ष ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने जिकिर गरे । २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताए ।
उनले भने- ‘एमालेसँग तालमेल गर्दा ५४ सिट पाएको थियो, अहिले चोक्टा खान गएको झोलमा डुबेको जस्तो भएको छ, ४४ कि ४५ सिट पाएको छ, आधा पनि जित्दैन।’
ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभएर भागबण्डाका लागि भएको आरोप लगाए । ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशकको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नभएको बताए ।
मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै ओलीले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजनाहरु पश्चिम सेती, खुटीया दिपायल फास्ट ट्रयाक, सहजपुर बोगटान राजमार्गलाई पूर्णता दिने, लिपुलेक लिम्पियाधुरालाई नक्सामा कायम गरे जस्तै भूमि फिर्ता गर्ने बताए ।



















