काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौं-१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताए । उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गरे ।
अध्यक्ष ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गरे । उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकीर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने बताए । उनले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद र निर्वाचनको अर्थ के हो ? भन्दै प्रश्नसमेत गरे ।
अध्यक्ष ओलीले परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको बताए । उनले विकासको मुल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमालेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गरे । उनले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलछिना सरकारको संज्ञा दिए । उनले देश बिगार्न नदिनका लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउनु नहुने बताए ।
उनले यतिबेला देशबिरोधी तत्वहरु सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेलाई बहुमतले जिताएर स्थायित्व कायम गर्न लाग्नुपर्ने बताए ।




















