काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।
सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरेको भन्दै उपाध्यक्ष पौडेलले आफ्नो दलले पाँच वर्ष एक्लै सरकार चलाउन सक्ने गरी बहुमत ल्याउने दाबी गरे ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले १६५ निर्वाचन क्षेत्रको समानुपातिक र प्रत्यक्ष दुवैतर्फ एमालेले दुई तिहाई नल्याए पनि साधारण बहुमत ल्याउने स्थिति रहेको बताए । सत्तारुढ गठबन्धनको गतिविधिका कारण मतदाताले उनीहरुलाई मत नदिने पौडेलले बताए ।
उनले भने, ‘गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ ।’
उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेकोसमेत जिकिर गरे । उनले रुपन्देही–२ मा आफू सानदार ढंगले निर्वाचित हुने दाबी गरे ।




















