काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नम्बर टिपाएका सर्वसाधारणसँग टेलिफोनमार्फत् कुराकानी गरेका छन् ।
अध्यक्ष ओलीले शुक्रबार पार्टी कार्यालय च्यासलबाट फेसबुकमार्फत नम्बर टिपाएका सर्वसाधारणहरुमध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर संवाद गरेका हुन् । अध्यक्ष ओलीसँग कुराकानी गर्न एक लाख ७१ हजार सात सय ८३ जना सर्वसाधारणले आफ्नो नाम र नम्बर टिपाएका थिए ।
अध्यक्ष ओलीले सर्वसाधारणसँग गरेको संवाद आगामी चुनावलगायत समसामयिक विषयमा केन्द्रित भएको थियो । उनले ट्वीट गर्दै सर्वसाधारणहरुले उत्साहपूर्ण सहभागिता जनाएकोमा धन्यवादसमेत व्यक्त गरेका छन् ।
यसअघि अध्यक्ष ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एजेन्डामा केन्द्रित रहेर ‘लाइभ डिबेट’ को लागि प्रस्ताव गरेका थिए । तर उक्त प्रस्तावबारे प्रधानमन्त्री देउवाले कुनै प्रतिक्रिया दिएका छैनन् ।




















