काठमाडौं । एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल एमालेमै फर्किएकी छन् । अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
एमालेमा प्रवेशपछि रावलले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको बताइन् । रावलले एमालेलाई छिन्नभिन्न बनाउन सबै लागिरहेको अवस्थामा आफूले पार्टी बलियो बनाउने काममा एउटा इँटा थप्ने बताइन् ।
नेतृ रावल संविधान सभाकी सदस्यसमेत थिइन् । नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी उनले नेकपा एकीकृत समाजवादीको पनि भविष्य नभएको दाबी गरिन् ।
देशको भविष्य निर्माण गर्ने पार्टी एमाले मात्र भएको र विगतमा लामो समय आफ्नो योगदान पनि यसै पार्टीमा रहेकाले पुनः एमालेमै फर्किएको रावलले बताइन् ।
उनीसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमालेमा फर्किएका छन् ।




















