काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग मिलेर पछिल्ला दिन काम भइरहेको भन्दै तल्ला तहका नेता कार्यकर्ता झगडा नगरी चुनावमा परिचालित हुन आग्रह गरेका छन् ।
मोरङको सुन्दरहरैँचा-५ आइतवार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने ‘स्थानीय निर्वाचजनमा के भयो, अधिवेशनमा के भयो, अधिवेशन त नेपाली कांग्रेसभित्रको प्रतिस्पर्धा हो, त्यो तुषलाई तपाईंहरु सबैले त्यागौँ । मैले त त्यागिसके। तपाईंहरुले किन नत्याग्ने ?’
कोइरालाले आफू पक्षीय नेता कार्यकर्तालाई भने, ‘शेरबहादुरजी र म सँगै लडेको होइन, गुट बनाएको होइनर ? त्यो माथि लगेकै होइन ? तर अहिले आफू र सभापतिबीच सल्लाहमै काम भइरहेको छ ।’
उनले आफू र शेरबहादुर देउवा मिलिसकेपछि कार्यकर्ताले झगडा गर्नुको अर्थ नभएको बताएका छन् ।
नेता कोइराला अहिले मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन्। उनी आफूलाई २०७४ मा पराजित गर्ने नेकपा एमालेका नेता लालबाबु पण्डितसँगै फेरि भिड्दैछन्।




















