काठमाडौँ । दसैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरूका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ ।
सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरू सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् ।
यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरूलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका साथ उनीहरू खट्नुपर्छ ।
यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरूले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरूले राष्ट्रलाई दिइरहेका हुन्छन् । उनीहरूले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ ।
घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक २६ हजार ८२ रूपैयाँ मात्रै रहेको छ । यो उनीहरूको परिश्रमको आधारमा न्यून हो । यही संगठनले आज ६७ औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ ।
एउटा उत्सवको रूपमा प्रहरी दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार भीमबहादुर लायोमगर निकै उत्साहका साथ दिवसलाई सफल बनाउन लागिरहेका छन् । ‘हाम्रो लागि प्रहरी दिवस एउटा उत्सव हो । यसलाई रमाइलो गरेर मनाउनुपर्छ,’ उनले भने ।
प्रहरी संगठनभित्र काम गर्दा पाउने दुःखलाई बिर्सिएर उत्सवको रूपमा दिवस मनाउने गरेको उनले बताए । ‘२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परेको छ,’ उनले भने ।
जुनसुकै कामलाई पनि सकारात्मक रूपमा लिएर काम गर्दा सहज हुने उनको भनाइ छ । आफूले पाउने पारिश्रमिकको हिसाब नगरी कर्म क्षेत्रमा खटिने गरेको उनले बताए । ‘बाहिर हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कस्ले बुझेको छ र ?, न कुनै चाडपर्व, न कुनै समय सधै जनताको सेवामा लाग्नु पर्दा पाइने दुःखलाई बाहिरका कस्ले बुझ्ने ? उनले प्रश्न गरे । (रासस)



















