जनकपुर । मधेश प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्तमा परेका छन् । मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई वर्खास्त गरेका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।
मुख्यमन्त्री राउतले फोन गरेर राजीनामा गर्न आग्रह गरेका थिए । तर उनीहरुले राजीनामा नदिएपछि बर्खास्त गरेको मुख्यमन्त्री निकटस्थले बताएका छन् । उनीहरु २०७८ जेठ २६ मा नियुक्त भएका थिए ।
मुख्यमन्त्री राउतले सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको बुझिएको छ ।
मधेश सरकारमा एकीकृत समाजवादीबाट शत्रुधन महतो वन तथा पर्यटन मन्त्री, प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री छन् भने नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् ।
सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका थिए ।





















