काठमाडौँ । बर्सातका कारण रोकिएको मेलम्चीको पानी यो वर्षको वर्षा रोकिन थालेसँगै काठमाडौं उपत्यका ल्याउने तयारी गरिएको छ।
वर्षा सुरु हुनुअघि गत जेठ दोस्रो सातादेखि नै आयोजनाको हेडवर्क्स क्षेत्रमा रहेको संरचना र सुरुङ जोगाउन आयोजनाले मेलम्चीको सुरुङमा पानी पथान्तरण कार्य रोकेको थियो ।
मेलम्ची खानेपानी विकास समितिले यो वर्षका आगामी दिनमा ठूलो पानी पर्ने संभावना कम भएपछि मेलम्चीको पानी फेरि उपत्यका ल्याउन आवश्यक तयारी गरिरहेको हो ।
समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले मेलम्चीको पानी उपत्यका ल्याउनका लागि आवश्यक तयारी भइरहेको बताए । ‘गत जेठ दोस्रो सातादेखि मेलम्ची नदीमा आउन सक्ने सम्भावित बाढी पहिरोलाई लक्षित गरेर सुरुङमा पानी पठाउने कार्य रोकेका थियौं,’ उनले भने, ‘वर्षा याम सकिएसँगै मेलम्चीको पानी फेरि उपत्यका ल्याउन आवश्यक तयारी भइरहेको छ।’ उनले मंसिरभित्रै मेलम्चीको पानी उपत्यका आइपुग्ने दाबी गरे ।
समितिका सिनियर डिभिजनल इन्जिनियर पन्तले मेलम्चीको पानी फेरि उपत्यका ल्याउन १० करोड रूपैयाँ बजेट विनियोजन गरेर चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावर साइटमा खटिइसकेको बताए।
वर्षा याममा आएको बाढीपहिरोले सिन्धुपाल्चोकको किहुँलदेखि अम्बाथान हेडवर्क्ससम्मको करिब चार किलोमिटर सडक ट्र्याक बिग्रिनुको साथै तीन वटा अस्थायी पुलमा समेत क्षति पुर्याएको छ। ‘अघिल्लो वर्ष मेलम्ची नदीमा आएको बाढीपहिरोले धेरै क्षति पुर्याएको थियो तर अघिल्लो वर्षको तुलनामा यो वर्ष धैरै कम क्षति भएको छ। त्यसैले पनि छोटो समयमै मेलम्चीको पानी उपत्यका ल्याउन सकिने आशा गरेका छौं,’ उनले भने, ‘अब मेलम्चीको किहुँलदेखि अम्बाथान हेडवर्क्ससम्मको ट्र्याक र तीन-चारवटा अस्थायी पुल जति छिटो बन्छ। मेलम्चीको पानी पनि त्यति नै छिटो आउनेछ ।’ यो वर्ष मेलम्ची नदीमा आएको भेलले आयोजनाको हेडवर्क्सस्थित संरचनालाई त्यति धेरै क्षति नपुर्याएकाले पनि छिट्टै आउने आयोजनाको दाबी छ।
सिनियर डिभिजिनल पन्तले सुरुङमार्गको हेडवर्क्ससम्म पुग्नको लागि मात्रै समस्या भएको बताए। ‘अम्बाथान अडिटमा पनि गेट लगाएका छौं। सुरुङको मुख्य गेटको पनि ढोका राम्रोसँग बन्द गरेकाले पनि सुरुङ भित्र कुनै पनि क्षति नपुर्याएको आशा गरेका थियौं।’ उनले भने, ‘अहिले सुरुङभित्र कुनै पनि लेदो तथा अन्य गेग्य्रान नपसेको अनुमान गरेका छौं।’



















