काठमाडौँ । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो ।
अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार दोस्रो पटक पाँच दिनको म्याद थप गरेको हो ।
जिल्ला सरकारी वकिलले थप सात दिन मागेको थियो। विगतमा पनि सात दिन दिएको र बयान पनि आधा सकिएकाले कम समय दिनुपर्ने माग सन्दीपका कानुन व्यवसायीहरुले गरेका थिए । छिटै मुद्दाको किनारा गर्नुपर्ने भन्दै उनीहरुले ३ दिनको मात्र समय दिनुपर्ने माग गरेका थिए । अदालतले बयानदेखि अनुसन्धान सक्न भन्दै असोज ३१ गतेसम्म न्यायिक हिरासतमा राख्न भनेको छ ।



















