काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि भएको सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेका कारण प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई हटाउन लागेको बताइएको छ ।
जसपाका मन्त्रीहरुबारे छलफल गर्न प्रधानमन्त्री देउवाले गठवन्धनको वैठक दिउँसो २ बजे बोलाएको बताइएको छ । बैठकमा गठबन्धनबाहेकका बागी उम्मेदवारको विषयमा पनि छलफल हुने बताइएको छ ।
निर्वाचन आचारसंहिता लागू भइसकेकाले प्रम देउवाले जसपाको मन्त्री हटाउने विषयमा कानून व्यवसायीसँग समेत परामर्श गरेको बताइएको छ ।
जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।
चुनावी सरकार भएकाले तत्काल सरकारबाट नबाहिरिने जसपाले निर्णय गरेको थियो । जसपाका प्रवक्ता मनिष सुमनले भनेका थिए ‘सबै मिलेर चुनाव सम्पन्न गराउनु छ । त्यसै पनि यो चुनावी सरकार हो । त्यसैले सरकारबाट बाहिरिनेबारे छलफल भएको छैन ।’
सरकारमा बस्नु र चुनावी तालमेल गर्नु फरक भएको उनको तर्क छ ।




















