काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यालयले चाडपर्वमा हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न बिशेष सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ । चाडपर्व लक्षित बिशेष सुरक्षा योजनामा प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा १४ सय ६८ ट्राफिक प्रहरी खटिने एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । सो क्रममा सवारीको यान्त्रीक जाँच देखि मापसे चेकिङ, सवारीको क्षमता लगाएत जाँच हुने उनले बताए ।
चाडपर्वमा तीव्र रुपमा सवारी चलाउदा दुर्घटना हुने सक्ने भन्दै थप ३५ स्थानमा जाँच हुने र बिभिन्न नाकामा पनि प्रभावकारी रुपमा अनुगमन गरिने भट्टले जानकारी दिए । उनले नाकामा लागूपदार्थसम्बन्धी चेकजाँच पनि भइरहेको बताएका छन् ।
उनले २४ घण्टा नै ट्राफिक प्रहरी खटाएर चाडपर्व सुरक्षित गर्ने पनि बताए । त्यस्तै बिभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको उल्लेख गरेका छन् ।