काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्वीमा मिसिएको छ । बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमका बीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मिश्र नेतृत्वको समूहलाई पार्टीमा स्वागत गरेका हुन ।
मिश्रको एउटा समूहमा राप्रपामा प्रवेश गरेका भएपनि सो कार्यक्रमलाई एकता घोषणा सभा भनिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
मिश्रसँगै विवेकशील(साझाका नेता शरद पाठक, बागमतीका प्रदेश संयोजक एवम् कार्यसम्पादन समिति सदस्य उज्वलकृष्ण श्रेष्ठ, बागमती प्रदेशकी सांसद एवम् कार्य सम्पादन समिति सदस्य शोभा शाक्य, गण्डकीकी संयोजक एवम् कास सदस्य सुशीला केसी अधिकारी, लुम्बिनीका संयोजक एवम् कार्य सम्पादन समिति सदस्य अनुपमान सैंजु, कर्णालीका संयोजक एवम् कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही लगायत केन्द्रीय सदस्य र नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्न लागेको बताइएको छ ।
उता विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै कुनै व्यक्ति कुनै दलमा प्रवेश गर्नुलाई ठूलो रूपमा नलिन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई अनुरोध गरेकी छन्।
उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउने बताइएको छ ।
त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको बताइएको छ ।
आफूलाई परम्परागत शक्ति भन्दै आएको राप्रपाले मिश्रलाई पृथ्वीनारायण शाहको तस्वीर ढोग्न लगाउँदै आफ्नो पार्टीमा भित्र्याएको छ । मिश्रले पृथ्वीनारायण शाहको तस्वीरमा ढोगेपछि एकता घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।