काठमाडौँ । स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आएका छन् ।
सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी अहिले पौने ५ बजेको प्लेनमार्फत् काठमाडौं आएका हुन् ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझावअनुसार केसी आफ्नै खर्चमा काठमाडौं आएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।
मंगलबारसम्म माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा रहेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौं आउन सहमत भएका हुन् । काठमाडौंमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार गरिने जनाइएको छ ।
स्वास्थ्यमा समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो । तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उनलाई लिन धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाडौं आएको थियो ।




















