काठमाडौं । स्वास्थ्य भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको दावी गरेका छन् ।
बिहीबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खापुङले डेंगु नियन्त्रणका निरन्तर छलफल भइरहेको र एक्सनमा जाने काम भइरहेको बताएका हुन् ।
मन्त्री खापुङले लामखुट्टेको लार्भा नष्ट गर्ने कामलाई पनि तीव्रता दिएको र जनचेतनका काम पनि भइरहेको बताएका छन् । लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान देशैभरि सञ्चालन गरिरहेको उनको भनाइ छ ।
मन्त्री खापुङले लामखुट्टे नष्ट गर्न स्प्रे र बिषादी छर्नका लागि बिज्ञहरुका सुझाव नआएका कारण हाललाई उक्त कार्य भने नगरिएको बताए । उनले डेंगु प्रभावित विरामीको उपचार भइरहेको र अन्य अस्पताललाई पनि तयारीको अवस्थामा राखिएको जानकारी दिएका छन् ।
अनेरास्ववियुले डेंगु नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न र विद्यार्थीलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने भन्दै मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाएको हो ।


















