काठमाडौं । काठमाडौं महानगरपालिकाका विभिन्न फुटपाथमा व्यवसायी गर्दै आएकाहरु महानगरविरुद्ध आन्दोलित भएका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आज बिहान महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
संघले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई आफ्ना ३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएर १० दिनभित्र आफ्ना माग पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । १० दिन बितिसक्दा पनि माग पूरा नगरेपछि आज फुटपाथ व्यवसायी र साना व्यवसायीले महानगरको कार्यालय अगाडि धर्ना दिएका हुन् ।

साना व्यवसायीहरुले सरकारको सहयोगी बन्न ईच्छुक रहेको बताउँदै सहकार्यका लागि आह्वान गरेका छन् । यस विषयमा महानगरपालिकाले गम्भिरता नदेखाएमा यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं महानगरपालिका हुनुपर्ने उनीहरुले चेतावनी दिएका छन् ।
उनीहरुले महानगर भित्र रहेका सबै वडाहरुमा नागरिक बजार संचालन गरि सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्न, त्यसका लागि स्वरोजगार श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउन आग्रह गरेका छन् ।
यस्तै सन्ध्याकालिन बजारको व्यवस्था, नेपालीहरुको महान चाड पर्वहरु दशै, तिहार, छट सम्मको लागि अल्पकालिन रुपमा विहान वेलुकीको निश्चित समय निर्धारण गरी यथा स्थानमा व्यपार ब्यवसाय गर्ने बातावरण तयार गर्न, जफत् गरिएका सामानहरु फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।



















