काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् ।
बुधबार ली चान्शुको टोलीले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेका छन् । पच्पन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उनले भूकम्पले पु¥याएको क्षतिबारे पनि जानकारी लिएक छन् ।
प्रतिनिधिमण्डलका सदस्यहरुले भक्तपुर नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गरेको छ ।

त्यसअघि उनले मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । ली चान्शुल मङ्गलबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
अध्यक्ष ली भ्रमण सम्पन्न गरी भदौ ३० गते बिहान विशेष विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।



















