काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन् ।
बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएकी उनले यस्तो बताएकी हुन् । उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन् । उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहीवार अतिथिहरु आउने क्रम जारी रहने जानकारी दिइन् । उनले कोरोना संक्रमण पुनः बढ्न थालेकोले महानगरले बोलाएका पाहुनाहरुमा कमी हुनसक्ने पनि बताइन् । उनले बोलाइएका पाहुनाहरु र देशवासीहरुसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताइन् ।
पुराण अनुसार प्राचिन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागेको र त्रिदेवसहित सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरेको साथै इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनिएको उल्लेख पाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।



















