काठमाडौं । यती एअरलाइन्सले एटीआर ७२-५०० विमान थप गरेको छ । यतीको यो छैटौं विमान सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । यतीले ७० सीट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभासन कम्पनीसँग लिजमा ल्याएको हो ।
उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । एमएसएन नं ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकलमात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको कम्पनीले दाबी गरेको छ । एटीआर विमानको जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ ।
विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । ‘विमानको आवश्यक कागजी प्रक्रिया पूरा गरी रंगरोगन गरेपश्चात विमानले दशैं अगाडि नै उडान गर्नेछ । यसले गर्दा दशैंको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने विश्वास लिएका छौं’, उनले भने, ‘यही आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तव्यहरुमा सेवा विस्तार गरिनेछ ।’
विमान थपिएपछि ५ वटा विमानलाई आधार बनाइ उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
Yeti_New_ATRATR 72-500 टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७० सीट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । PW127 इन्जिनहरूद्वारा सञ्चालित ATR 72-500 यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकाले उडानको क्रममा आरामदायी हुने कम्पनीले बताएको छ ।
यो विमानले नयाँ पुस्ताका जेटहरूभन्दा प्रतियात्रु-किमिमा लगभग ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्दछ र पुराना विमानहरू भन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्दछ । यती एअरलाइन्स दक्षिण एशियामा पहिलो कार्वनन्युट्रल एअरलाइन्स हो । एअरलाइन्सले हाल नेपालका सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानहरु गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ चार्टर र नन–सेड्युल उडान गर्ने अनुमति पाएको छ ।