काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हकहितका बिषयलाई उठाउदा विश्वविद्यालयको पठनपाठनमा पर्न सक्ने असरप्रति ख्याल गर्न आग्रह गरेका छन् ।
नेपाल प्राध्यापक संघको ६० औं वार्षिक दिवसका अवसरमा बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आफ्ना माग र हकहितका बिषयलाई उठाउदा जिम्मेवार भएर विश्वबिद्यालयको पठनपाठनमा कुनै आँच आउन नदिन तथा शैक्षिक क्यालेन्डरमा असर नपार्न आग्रह गरेका हुन ।
विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्ने उहाको भनाई छ । त्यस्तै उनले विश्वविद्यालयका समस्या र चुनौतीहरूलाई आपसी सम्वाद र समन्वयबाटै समाधान गर्नुपर्ने र यसमा प्राध्यापकहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले बिद्यार्थीहरुले पढ्न चाहेको बिषय नेपालमा नै पढाउनका लागि कतिपय कुराहरु सुधार गर्नुपर्ने गम्भीर चूनौतिमा रहेको बताए । उनले विश्वबिद्यालयमा राजनीति भएर पठनपाठनमा समस्या भएको गुनासो आउने गरेको भन्दै सवै समस्याहरुलाई वार्ताबाटै हल गर्नुपर्ने धारणा राखेका छन् ।
मन्त्री पौडेलले प्राध्यापकको पेशागत हक हितका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताए ।