चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो ।
पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि बिहानीपख २ बजेपछि पहाडको ढिस्कोसहित पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवं प्रवक्ता नरहरि अधिकारीले बताए ।
राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चले पनि फेरि पहिरो खस्दा ठप्प भएको छ । अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ ।
सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । विशेषगरी, बिरामी, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । अहिले बाटो खुलाउने प्रयास भइरहेको छ भने सडक अबरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् ।
मौरी खोला पुल नजिकै माथीबाट लेदो सहितको पहिरो खसेको हो ।

























